बीपीको मेलमिलाप नीति व्यवहारिक दर्शन होः नेता केसी (भिडियोसहित)

काभ्रे– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बीपी कोइरालाको मेलमिलाप नीतिलाई कुनै निश्चित राजनीतिक दलको राजनीतिक दर्शनका रुपमा बुझ्न नहुने धारणा राखेका छन् ।
४३ औं  राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोमबार काभ्रेमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले मेलमिलाप नीतिलाई  व्यवहारिक जीवनमा पनि कसरी प्रयोग गर्न सकिन्छ भन्नेतर्फ सोचिनुपर्नेमा जोड दिए ।

बीपीले मेलमिलापको जुन आदर्श बोके त्यसलाई राजनीतिक चिन्तन भन्दा पनि त्यतिबेलाको आवश्यकताका रुपमा बुझनुपर्ने केसीको भनाई थियो । उनले बीपीको मेलमिलाप नीतिलाई व्यवहारिक दर्शनको संज्ञा समेत दिए ।

वाद, प्रतिवाद र संवादको प्रक्रिया नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै केसीले पार्टीभित्र पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले पार्टीमा विचार, नीति र सत्यलाई महत्व दिइनुपर्ने बताउँदै भने, ‘म आजका दिनदेखि व्यक्ति होइन विचारलाई साथ दिन्छु । कुनै चित्र होइन चरित्रलाई साथ दिन्छु ।  नेता होइन नीति हेरेर साथ दिन्छु ।’  सबै नेता कार्यकर्ताले यस्तै सोच्ने हो भने  पार्टीको एक भएर अघि बढ्ने उनको भनाई थियो ।

यस्तै पार्टीभित्र कसैले स्वार्थका लागि गलत गर्छ भने  त्यसविरुद्ध कार्यकर्ताले संघर्ष गर्न सक्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रमा कांग्रेस काभ्रेका सभापति मधु आचार्य, पूर्व सांसद तीर्थ लामा , पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?