काठमाडौं । काठमाडौं उपत्यकाको सोमबार बिहानको न्यूनतम तापक्रम शून्यमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियस छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार तापक्रम घट्ने क्रम जारी रहेकाले चिसो अझै बढ्ने छ ।
प्राकृतिक कारणसँगै जम्मु कस्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको र चिसो बढेको मौसमविद् श्रेष्ठ बताए ।
त्यस्तै मंगलवार र बुधवार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसनविद्को छ ।
मौसमविद श्रेष्ठका अनुसार मंगलवार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताए ।
बुधवार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागका केही स्थानहरुमा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।
यसैबीच बुधवार राति देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानहरुमा वर्षा हुने मौसमविद्को पूर्वानुमान छ ।
यसैगरी अहिले सबैभन्दा बढी चिसो जुमलामा छ । सोमवार बिहान ८ः४५ मा गरिएको रेकर्डअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री मापन गरिएको छ ।
बिहान अत्यधिक चिसो हुने जुम्लामा दिउँसो भने तापक्रम बढ्ने गरेको छ ।
महाशाखाले दिउँसो यहाँको अधिकतम तापक्रम १४.४ पुग्ने प्रक्षेपण गरेको छ ।
त्यस्तै देश भर चिसो बढिरहँदा तराई तथा मधेशमा पुस शुरु भएदेखि नै शीतलहर चल्ने गरेको थियो । तर, यस वर्ष तराई–मधेशमा शीतलहर अझै शुरु भइसकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, तराई तथा मधेसमा यस वर्ष बाक्लो हुस्सु लागे पनि शीतलहर भइनसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया