ब्राउन सुगरसहित चारजना पक्राउ

 लागूऔषध ब्राउन सुगर कारोबार गर्ने ४ जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ । 

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट पाएको सूचनाको आधारमा  झापा प्रहरीले अनुसन्धान गर्दा ३१ ग्राम ब्राउन सुगरसहित पाँचथर फाल्गुनन्द गाउँपालिका १ घर भई हाल झापा दमक ६ मा डेरा बस्दै आएका संग्रामसिंह आङ्देम्बे (लिम्बू) लाई पक्राउ गरेको हो।

मे १० प ६३० नंबरको बुलेट मोटरसाइकलमा सवार उनको साथबाट ३१ ग्राम ब्राउन सुगर, लागूऔषध तौलन प्रयोग गर्ने पकेट डिजिटल तराजु १ थान समेत बरामत भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए । 

प्रहरीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य ३ पक्राउ परेका हुन् ।

ताप्लेजुङ थुम्बेदिन घर भई हाल अर्जुनधारा नगरपालिका १० झापामा डेरा बस्ने भीमबहादुर अधिकारी सोही स्थानकी ओममायाँ खतिवडा अधिकारी र कचनकवन २ की रेवतीमायाँ डाँगीबाट खरिद गरी बिक्रीका लागि ल्याएको बताएपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका चारजनालाई आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा सार्वजनिक गरिएको छ।

पक्राउ परेका अधिकारी र डाँगीको कोठाबाट पनि २ सय २ ग्राम ब्राउन सुगर प्रहरीले बरामत गरेको छ। उनीहरुबाट ब्राउन सुगर खरिद गरेर अन्यले देशका विभिन्न स्थानमा पुर्‍याउने गरेको प्रहरीको दावी छ।

अधिकारी र डाँगीको कोठाबाट प्रहरीले तीन थान मोबाइल, १३ हजार नगदसमेत बरामत गरिएको छ ।

उनीहरुलाई आवश्यक कार्बाही गरी गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?