‘गुरु पत्रकार’को चौरासी

काठमाडौँ  – नेपालका अग्रज पत्रकार एक गोकुलप्रसाद पोखरेलले एक हजार पूर्णचन्द्र दर्शन गरेका अवसरमा उहाँको परिवारबाट आज विशेष कार्यक्रम आयोजना गरिएको छ ।

समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत पत्रकारिता क्षेत्रका विशिष्ट महानुभावले पोखरेल दम्पतीको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरे । 

 सो अवसरमा गुरु पत्रकार पोखरेलले आफूजस्तै  सबैले एक हजार पूर्णचन्द्र देख्न पाऊन् भन्ने कामना गरिरहेको बताए  ।

 पोखरेल ‘गोरखापत्र’का प्रधानसम्पादक हुँदा ‘गोरखापत्र’ प्रवेश गरेका वरिष्ठ पत्रकार धुवहरि अधिकारीले उनलाई वरिष्ठ पत्रकार मात्र भनेर नपुग्ने बताउँदै उहाँलाई गुरु पत्रकारको संज्ञा दिए ।  

 पोखरेल विसं २०१९ मा राष्ट्रिय समाचार समितिको प्रधानसम्पादक र   त्यसपछि कामु महाप्रबन्धक रहे ।

त्यसपछि ‘द राइजिङ नेपाल’ तथा ‘गोरखापत्र’ दैनिकको एशोसियट एडिटर हुँदै पोखरेलले २०३६ सालपछिका चार वर्षसम्म ‘गोरखापत्र’ दैनिकको प्रधानसम्पादक भई काम गरे ।  

पत्रकारलाई तालीम दिने संस्था नेपाल प्रेस इन्स्टिच्यूटका संस्थापक सदस्य र अध्यक्षसमेत रहेका पोखरेल केही समय ‘मुना’ नेपाली पत्रिकाको प्रधानसम्पादकसमेत रहे ।

वृद्ध उमेरमा ती जिम्मेवारीबाट अलग रहँदा पनि उहाँ मिडिया परामर्शदाताका रुपमा क्रियाशील छन् ।

उनलाई शुभकामना व्यक्त गर्न राससका कार्यकारी अध्यक्ष श्यामल तथा महाप्रबन्धक ओपेन्द्र शर्मा पनि समारोहमा पुगेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?