आफ्नै तलबबाट नगरप्रमुखले बाँडे विद्यार्थीलाई न्यानो कपडा

पर्वत । आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका-२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका-५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

जाडो मौसममा विपन्न परिवारका बालबालिका पनि चिसोबाट बच्न सकुन् र जस्तोसुकै अवस्थामा पनि पठनपाठनका लागि विद्यालय नियमित आवतजावत गर्न सकुन् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको उनले बताए । जोशीले जगदम्वाका २६ र बाल मन्दिरका २० गरी ४६ जना विद्यार्थीलाई एकै दिन कपडा वितरण गरेका हुन् ।

उनले आफू सधैं विपन्न र गरिब परिवारको साथमा रहने पनि प्रतिबद्धता जनाए । यसअघि पनि नगरप्रमुख जोशीले आफ्नो तलबबाट विद्यार्थी, विद्यालय, उपचार पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?