काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते (आज) ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, ओखल्ढुङगालगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । यस्तै तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा सार्वजनिक विदासमेत दिइएको छ ।
पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।
तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले एकताको भावना बढाउने : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताएकी छन् ।
तमुल्होसारको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
सन्देशमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
सामाजिक सद्भाव र सौहार्दका लागि नेपाल संसारभरि नै सुपरिचित : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
उपराष्ट्रपति पुनले एक शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको उल्लेख गरेका छन् ।
नेपालका सबै समुदायका आ-आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उनले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी समिश्रण एवं साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दका लागि संसारभरि नै सुपरिचित रहेको बताएका छन् ।
उपराष्ट्रपति पुनले विविधताबीच राष्ट्रिय एकता हुनु नेपालीको विशेषता हो भन्दै हाम्रा मौलिक धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरेको बताएका छन् ।
तमु ल्होसारमा प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताएका छन् ।
तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई शुभकामना सन्देश दिँदै उनले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने एकमात्र लक्ष्यका साथ सरकार अगाडि बढेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल विविधतामा एकता भएको देश रहेको उल्लेख गर्दै ‘विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यैँ सफल हुन दिएन’ भनेका छन् ।
‘हामी लामो समय राजनीतिक हकअधिकारप्राप्तिको सङ्घर्षमा होमिनुपर्दा देशले विकासको गति लिन नसकेको र जनताले अभाव, अशिक्षा एवम् गरीबी भोग्नुपरेको बताउँदै उनले नेपालमा राजनीतिक मुद्दा सकिएकाले अब हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेको छ, यो अभियानलाई सफल पार्न सरकारको एक्लो प्रयास मात्र पूर्ण हुँदैन, त्यसैले यस महाअभियानमा सबै सङ्घसंस्था र समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, आशा छ तमु समुदायले सरकारको यो महाअिभयानमा पूर्णरुपमा सहकार्य गर्नेछ ।’
नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिका आफ्ना आफ्नै खालका विशेषता र आफ्नै संवत्, संस्कृति र चाडपर्व रहेको उल्लेख गर्दै उनले त्यसैमध्येका एक तमु जातिले ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया