इन्जिनियरिङको स्नातकोत्तर प्रवेश परीक्षामा परीक्षार्थीहरूको अत्यधिक चाप

काठमाडौं । इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीको प्रतिस्पर्धा उच्च देखिएको छ ।

आगामी शैक्षिक वर्षको लागि नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर प्रवेश परीक्षामा निर्माण व्यवस्थापन कार्यक्रममा कलेजको भर्ना क्षमता भन्दा लगभग ७ गुणा वढीले परीक्षा दिएका छन् । साथै यातायात इन्जिनियरिङ तथा व्यवस्थापन कार्यक्रममा भर्ना क्षमता भन्दा लगभग ५ गुणा बढी विद्यार्थीहरू प्रतिस्पर्धामा सहभागि भएका छन् ।

प्रवेश परीक्षाको गुणस्तरीयतामा एकरुपता ल्याउने उद्देश्यले पोखरा विश्वविद्यालयले यसपाली इ. अर्जुन गौतमको संयोजकत्वमा गठन गरेको समितिको प्रत्यक्ष्य निगरानीमा उक्त प्रवेश परीक्षा संचालन भएको थियो । सिमित सिट संख्याको लागि परीक्षा भएको थियो । 

स्नातकोत्तर तहमा निर्माण व्यवस्थापन कार्यक्रम नेपालका अन्य कलेजहरूमा पनि अध्यापन हुने भएता पनि हरेक वर्ष नेपाल इन्जिनियरिङ कलेजमा नै परीक्षार्थीहरूको चाप अत्यधिक रहने गरेको छ ।

कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठका अनुसार पोखरा विश्वविद्यालयको संवन्धनमा नेपाल इन्जिनियरिङ कलेजले २०५६ साल देखिनै विभिन्न स्नातकोत्तर कार्यक्रमहरू चलाउँदै आइकोमा निर्माण व्यवस्थापन कार्यक्रममा हालसम्म २७ वटा भर्ना व्याचमा जम्मा सात सय ८७ विद्यार्थीहरू भर्ना भइकेको छन् भने तीमध्ये अधिकांसले नेपाल सरकारका विभिन्न निकायहरूमा उच्च तहको प्राविधिक सेवा दिइरहेका छन् ।

इन्जिनियरिङ विधाको स्नातकोत्तर तहको अध्यापनमा नेपाल इन्जिनियरिङ कलेजले देशकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएकोले पनि विद्यार्थीहरूको चाप यस कलेजमा अत्यधिक रहेको देखिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?