नेकपाको कार्यदलले आइतवारबाट काम शुरु गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले गठन गरेको कार्यदलले भोलि (आइतवार)देखि काम शुरु गर्ने भएको छ । 

संगठनात्मक एकता र पार्टी एकीकरणका बाँकी कामको गृहकार्य सक्न शुक्रवार बसेको समितिको बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको हो । 

गत मंसिर २९ गतेदेखि जारी नेकपा स्थायी कमिटिको बैठक हिजो (शुक्रवार)बाट सकिएको छ । 

सो कार्यदलले तयार बनाएको प्रतिवेदनका आधारमा तल्लो तहसम्मको पार्टी एकता प्रक्रिया टुङ्ग्याउने नेकपाले जनाएको छ ।

कार्यदललाई तल्लो तहको एकता प्रक्रिया टुङ्ग्याउने विधि प्रक्रिया र मापदण्ड तय गर्ने कार्यदेश दिइएको नेकपाले जनाएको छ । भोलिबाट काम शुरु गरेर तोकिएको समयसीमा भित्रै सकेर सचिवालयलाई बुझाउने कार्यदल सदस्य वेदुराम भुषालले जानकारी दिए ।

स्थायी समितिको बैठकले रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुषाल र रघुवीर महासेठ रहेको ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

त्यस्तै तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपनि तल्लो तहसम्म एकताको काम सकिएको छैन । 

पार्टी एकतापछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति मात्र गठन भएको छ । वडा तहदेखि जिल्ला तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउन बाँकी छ ।

पार्टी एकता भएको ६ महिना वितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया नटुङ्गिएको प्रति नेकपाभित्र तिव्र असन्तुष्टि बढ्दै गएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?