बारा । शिक्षकको कुटाइबाट बारामा एक छात्रको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा कक्षा ७ मा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १५ वर्षीय अजयकुमारको मृत्यु भएको हो ।
उनको जिल्ला अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।
शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड झाले बताए ।
अजयकी साथी रीमा मण्डलका अनुसार प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको बताइन् ।
मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए भने शिक्षक यादव भने फरार छन् ।
मेडिकल सुपरिन्टेन्डेड झाले भने, ‘पोस्टमार्टम जाँचका लागि प्रहरीले पेटमा भएको खानाको केही भाग लगेको छ, रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’ अजयले बान्ता र पखाला गरेको देखिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया