काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गरेका छन् ।
कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत निरीक्षण गरिएको उपप्रधानमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए । अनुगमनका क्रममा सडक निर्माणको हालसम्मको प्रगतिका अवस्था, स्थानीयका गुनासो तथा समस्याकाबारेमा जानकारी लिएको प्रेस संयोजक गिरीले बताए ।
सडक अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, प्राविधिक टोली, सम्बन्धित सडक आयोजना प्रमुख, भारतीय राजदूत, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि सहभागि थिए । यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा राजदूत श्रीवास्तव पनि सहभागी भएका हुन् ।
कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । मन्त्रालयले यसअघि देशैभर लामो समय सम्पन्न हुन नसकेका रुग्ण आयोजनाका निर्माण व्यावसायीहरुलाई मन्त्रालयमै बोलाएर जानकारी लिएको प्रेस संयोजक गिरीले बताए ।
उनीहरुसँग कहिलेसम्म निर्माणकार्य सम्पन्न गर्नुहुन्छ ?, किन ढिलासुस्ती भइरहेको छ ? अबपनि सम्पन्न नभए ठेक्का सम्झौता रद्द गर्ने कि नगर्ने भन्नेबारे सुझाबसमेत दिइसकेको गिरीको भनाइ छ । सो सडकको निर्माणकार्य उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण माग्दा निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया