काठमाडौं– बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको सो बस शुक्रबार दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतकको शव घटनास्थलबाट ल्याउने काम भइरहेको छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।
बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए ।
बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए । सो दुर्घटनामा परी जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दननाथ गाउँपालिका– ३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का घाइते भएका छन् ।
यस्तै दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका– ४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी र अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वलीपनि घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया