निर्मला पन्त प्रकरण : एसपीसहित १८ प्रहरीमाथि कारबाही तयारी

काठमाडौं । प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोपमा १८ जना प्रहरीमाथि कारबाही सुरु गरेको छ । 

एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार प्रहरी प्रधान कार्यालयमातहतको कानुन विभागले तत्कालीन प्रहरी प्रमुख (एसपी) दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही चलाउन लागेको हो ।

समितिले बुझाएको प्रतिवेदनमा एसपी विष्टसहित दुई डिएसपीहरु अङ्गुर जिसी, ज्ञानबहादुर सेती, तीन जना इन्स्पेक्टर, चार जना सई, तीन हवल्दार र बाँकी ५ जवानलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाइएको प्रतिवेदन कानुन शाखामा पठाइएको छ । प्रतिवेदनले दोषी ठहराएकालाई अब कानुन शाखाले विभागीय कारबाही गर्नेछ ।

एआईजी बस्न्यात नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा घटनाको रेस्पोन्स नगरेको, जिल्ला प्रहरी प्रमुख घटना स्थलमा नपुगेको, घटना स्थलको सुरक्षा नगरेको, प्रमाण बरामद नगरेको, अनुसन्धानमा कुकुर प्रयोग नगरिएको, झुटो प्रमाण पेश गरेको जस्ता कैयौं गल्ती औंल्याइएको छ ।

प्रतिवेदनमा भदौ ४ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा घटनाका मुख्य अभियुक्तका रूपमा दिलीपसिंह विष्टलाई उभ्याउन हतार गरिएको उल्लेख छ । पर्याप्त दसीप्रमाणबिना दिलीपसिंहलाई अभियोगी करार गर्न खोजिएको, जबर्जस्ती अपराध कबुल गराइएको, पर्याप्त प्रमाण र आधारबिनै अदालतबाट म्याद थपेर थुनामा राख्नेजस्ता कमजोरी प्रतिवेदनमा औंल्याइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८, निम्बुखेडास्थित उखुबारीमा साउन १० गते निर्मलाको शव फेला परेको थियो ।

अझै भेटिएनन् अभियुक्त
गत मंसिर १८ गते काठमाडौँको राजधानीबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ निवासी प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट पनि नेगेटिभ आएको छ । दुवैजनाको डिएनए निर्मलाको स्वाबसँग नमिलेपछि प्रहरी अनुसन्धान मोडिएको हो । 

निर्मला पन्त प्रकरणको एउटा पाटो सकिए पनि दोषी पहिल्याउने र कानुनी कारबाहीको दायरामा ल्याउने पाटामा प्रहरीले सफलता हासिल गर्न सकेको छैन ।

अहिलेसम्म करिब कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डिएनए परीक्षण गरिएको छ । तर ती कसैसँग पनि निर्मलाको स्वाब नमिलेपछि प्रहरी अनुसन्धान झन् जटिलतातर्फ धकेलिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?