जिल्लादेखि केन्द्रसम्म रामचन्द्र पौडेल सकसमा, गोविन्दराजले गरे तनहुँमा समानान्तर कमिटीको घोषणा

काठमाडौं– केन्द्रमा कमजोर अवस्थामा देखिएका काँग्रेस नेता रामचन्द्र पौडेललाई जिल्लामा पनि धक्का लागेको छ ।

नेता गोविन्दराज जोशीले पौडेल असक्षम बनेको र उनको छत्रछायाँमा हुर्केकाहरुले जिल्लामा पार्टीलाई ध्वस्त बनाएको भन्दै काँग्रेस सुधारको उद्घोषसहित समानान्तर कमिटीको घोषणा गरेका छन् ।
उनीसहित निकटस्थहरुले बिहिबार दमौलीमा पत्रकार सम्मेलन गरेर  समानान्तर कार्यसमिति बनाउने घोषणा गरिएको हो ।

जसअनुसार आगामी माघ ८ गते तनहुँमा विशेष अधिवेशन आयोजना गरिने भएको छ ।
 सो क्रममा जोशी र उनीनिकट समूहले पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सीटमा पराजय भोग्नुपरेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए ।

पत्रकार सम्मेलनमा नेता जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरे ।
उनले १७ सालपछि तनहुँमा काँग्रेसलाई संगठीत गर्ने आफू नै भएको भन्दै अब पनि काँग्रेसलाई कसरी शक्तिशाली बनाउनु पर्छ त्यो आफूलाई राम्ररी थाहा भएको बताए ।

८ गतको अधिवेशनमा पार्टीको विधानअनुसार २५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने दावी गरेका गरिएको छ । अधिवेशन आयोजनाका लागि डिल्लीराम अधिकारीको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिनिधिसभा निर्वाचनको बेला कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । उनले बागी उम्मेदवारी दिएपछि काँग्रेसले कारबाहीको घोषणा गरेको थियो ।
 तनहुँमा कांग्रेसका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र  जोशीबीच टकराव चल्दै आएको छ । भ्रष्टचारको आरोप लागेपछि जोशी पार्टीभित्र छायाँमा परेका छन् भने पौडेलले गत चुनाव र महाधिवेशनमा हारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?