चितवन – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक सकारात्मक रुपमा अघि बढिरहेको बताएका छन् ।
शहीद स्मृति माध्यमिक विद्यालय भरतपुर महानगरपालिका वडा नम्बर ६, पारसनगरको स्वर्ण महोत्सवको अवसरमा प्राविधिक विद्यालय संचालनार्थ आयोजित धनधान्याचल ज्ञान महायज्ञलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले बाहिर सञ्चारमाध्यममा तितामीठा कुरा आए पनि बैठक असाध्यै सौहार्द्रपूर्ण ढङ्गबाट अघि बढेको बताए ।
‘बैठकमा सरकारको काम कारबाहीका बिषयमा गम्भीर छलफल भइरहेको छ’ उनले भने, ‘बैठकबाट छिट्टै उचित निष्कर्ष निकालेर देशमा नयाँ अभियानका साथ आउँदैछौं । यो बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्नेछ ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने नीति सरकारले लिइएको उनले बताए ।
सामुदायिक विद्यालयको शिक्षा बेरोजगारीभन्दा रोजगारी सिर्जना गर्ने भएमात्र देश समृद्धितर्फ जाने उनले बताए ।
समयसापेक्ष व्यावसायिक र प्राविधिक शिक्षाको विकास गरेर बेरोजगारीको अन्त्य गर्न सकिने उनको भनाइ थियो । ‘अबका युवाहरु पढेर विदेश जाने होइन, स्वदेशमै रोजगारीमा लाग्न आवश्यक छ’ प्रचण्डले भने, ‘देशबाट ब्रेन ड्रेन (बौद्धिक पलायन) हुँदा समृद्धिमा समेत असर पर्छ ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनमा भैतिक पूर्वाधारको विकासका लागि हुलाकी मार्ग, राप्ती र नारायणीमा तटबन्धन सहितको रिङरोडका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर बजेट निकासाको तयारीमा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया