महाशिला गाउँपालिकाले दियो ३ सय ६६ जनालाई रोजगारी

पर्वत । महाशिला गाउँपालिकाले एकै पटक ३ सय ६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । 

गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । 

गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २ सय २० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् ।

बीस जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ । गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । 

यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११-११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ । 

गाउँपालिकाले पहिलो चरणमा ३ सय ७० जनालाई सीपमूलक तालीमसहित ‘महासिला विकास स्वयंसेवक’का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालीमसहित ३ सय ६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए । 

महाशिला गाउँपालिकामा दुई हजार २ सय भन्दाबढी परिवार बसोबास गर्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष राजु पौडेलले १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक ६ हजार तलब दिइने बताए ।

‘गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो,’ उनले भने । रोजगारी पाएका सबैको न्यूनतम पाँच लाख बराबरको दुर्घटना बीमा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?