बाजुराको बडिमालिका नगरपालिकामा एक सातादेखि विद्युत् अवरुद्ध

मार्तडी ।  बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । 

त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ । गएको मङ्सिर २८ गतेबाट विद्युतगृहको यन्त्रको पाटपुर्जा बिग्रिएपछि विद्युत् सेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत् केन्द्रका निमित्त व्यवस्थापक गणेश शाहीले जानकारी दिए। 

उनका अनुसार विद्युतगृह को बेरिङ टुटेपछि सेवा अवरुद्ध भएको बताए। बेरिङ भारतबाट ल्याउन लागेकाले विद्युत् नियमित सञ्चालन हुन अझै एक हप्ता लाग्ने निमित्त व्यवस्थापक शाहीको भनाइ रहेको छ । 

विसं २०४२ मा निर्माण भएको उक्त विद्युत्को यन्त्र नफेरिँदा पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै आइरहेको छ । अवरुद्ध यन्त्र बनाउने कार्य भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र बाजुराले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?