रहेनन् पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा आज बिहान निधन भएको हो ।

गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

राजा महेन्द्रले २०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे ।

गिरी राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए । २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि गिरी प्रधानमन्त्री पनि बने ।

राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन सुरु गरेपछि गिरी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बने । नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अाज निवासमै राखिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?