बाढीले बगाएर भारत पुर्‍याएकाे गैंडालाई घर फर्काइयाे

चितवन । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडालाई नारायणीमा डुङ्गामार्फत घर भित्राइएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करीब १५र२० वर्षको पोथी गैँडालाई गएराति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो । केही गैँडा भारतको तल्लोभागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन । यसपालि एउटा गैँडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

अझै दुई गैँडा भारतमा रहेको निकुञ्जको भनाइ छ । उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए ।

उद्धारमा ३ वटा हात्तीको समेत प्रयोग गरिएको थियो । सुस्तावासीले गैँडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । शनिबार सुस्ताको उखुबारीमा आइपुगेको गैँडालाई स्थानीयवासीले ट्याक्टर तेर्स्याई रातभर जाग्राम बसेर छेकेका थिए ।

आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैँडालाई डार्ट गरेर (बन्दुकबाट औषधि पठाई लठ्याएर) नियन्त्रणमा लिइएको थियो । आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैँडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो ।

त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो । यसरी बाढीले बगाएका गैँडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो पटक हो । झन्डै दुई हजार किलोको गैँडालाई डुङ्गामा तार्नु जोखिम भए पनि स्थानीयवासीको सहयोग र माझीको कुशलताले सफल भएको निकुञ्जले जनाएको छ ।

उद्धारमा भारतीयको असहयोग

उक्त गैँडा १५र२० दिनअघिदेखि नै भारतीय भूमिमा देखिन थालेको थियो। भारतीय क्षेत्रमा भएकाले गैँडा उद्धारका लागि भारतले अनुमति दिएको थिएन ।

विगतमा सहज रूपमा गैँडा उद्धारमा सहयोग गरेको भारतको वाल्मिकी टाइगर रिजर्भले यसपालि भने सहयोग नगरेको गुनासो उद्धारमा खटिएका संरक्षणकर्मीको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?