केरुङ–काठमाडौँ रेलमार्गः अध्ययन प्रतिवेदन बुझाउन चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ– केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौैँ आइपुगेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाउन तथा उक्त रेलमार्ग निर्माणबारे विस्तृत् छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुुसुदन अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेशनल रेल्वे अथोरिटी चाइनाका उपप्रशासक आन लुसुङको नेतृत्वमा १५ सदस्यीय प्राविधिक टोली आइतबार साँझ काठमाडौँ आइपुगेको हो ।

जेठ ६ गते नेपाल आएका चिनियाँ प्राविधिक अधिकारीहरूले रेल विभागको संयोजकत्वमा उक्त रेलमार्गको प्रारम्भिक अध्ययन शुरु गरेका थिए ।

प्रतिनिधिमण्डलले सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार आयोजना हुने कार्यक्रमबीच प्रस्तावित उक्त रेलमार्गबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै आगामी दिनमा उक्त परियोजनालाई के कसरी अगाडि बढाउनेबारे छलफल गरिने सचिव अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?