मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोइराला र थापाले यस्तो माग अघि सारेका हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोइरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता गुमाएको दाबी गरे । नैतिकता गुमाइसकेका प्रधानमन्त्रीलाई अब एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नरहेको दाबी गर्दै नेता कोईरालाले उनले अब तत्काल राजिनामा दिनुपर्ने बताए ।
केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रदर्शन गरेको उनले बताए । ‘एउटा आईएनजीओको विवादित कार्यक्रममा निरिह बन्ने सरकारले देश चलाउँन सक्दैन ।’ उनले भने ‘प्रधानमन्त्रीले नैतिकता गुमाइसके । उनलाई अव १ मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएकाले तत्काल राजीनामा दिनुपर्छ ।’ एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे ।
फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकुल परिस्थितीमा पनि सत्तारुण दलबाट कांग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए । पार्टी सक्रियताका हिसाबले मोरङ क्षेत्र नम्बर ३ उदाहरणीय रहेको भन्दै नेता कोइरालाले सो क्षेत्रमा काँग्रेस नेता डा.सुनिल शर्मा लगायतको सक्रिय भूमिकाको प्रशंसा गरे । मोरङको ३ नम्बर क्षेत्र कांग्रेसको किल्ला भईसकेकाले अब यसलाई कसैले तोड्न नसक्ने उनको दाबी छ ।
यसैबीच कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले यो सरकारले अव चार बर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन् । नेकपा नेतृत्वको सरकार एक बर्ष भित्रै धेरै आलोचित भएर असफल सावित भईसकेको उनले बताए ।
सरकार गठनका लागि मात्र एमाले र माओवादी एक भई नेकपा पार्टी बनेको भन्दै नेता थापाले यो पार्टी सरकारमा पुग्न सफल भएपनि सरकार चलाउँन असफल भएको जिकिर गरे । ‘यो सरकार अव चार बर्ष रहनु भनेको देशले चार बर्ष खेर फाल्नु हो ।’ नेता थापाले भने ‘अब कांग्रेसले सरकारमाथि निगरानी र हस्तक्षेप गर्नुको विकल्प छैन ।’
यता मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुले अरु पार्टीमा जस्तो काँग्रेसमा जुगाको लडाई नरहेको दावी गर्दै नव प्रवेशीहरुलाई उपयुक्त स्थान दिएर पार्टीलाई सक्रियताका साथ अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
पूर्व माओवादीका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता कांग्रेस प्रवेश
यसैबीच सत्तारुण दल नेकपासहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । पूर्व माओवादीका केन्द्रिय सदस्यहरुसहित पूर्व एमाले, राप्रपा र लिम्बुवान लगायत दलबाट करिव एक हजार नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस क्षेत्रीय संयोजक गणेश खड्काले जानकारी दिए ।
उनका अनुसार पूर्व माओबादी केन्द्रका केन्द्रिय सदस्य राम न्यौपाने, मित्रसेन योञ्जन, मोहन रिमाल, माओबादी केन्द्र सुन्दरहरैंचा १० नम्बर वडाका संयोजक बुद्धि पराजुली, स्थानीय नेता चन्द्र खुलाल, लोकबहादुर साउदेन, जनमुक्ति पार्टीका अध्यक्ष डि.आर लिम्बू, लिम्बुवानका नेता बिनोद राई, राप्रपाका जिल्ला सचिव कृष्ण पौडेल लगायत नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्ने अधिकांस नव प्रवेशीहरुले पार्टीको केन्द्रिय नेतृत्वप्रति असन्तुष्टि जनाउँनै काँग्रेस रोजेको बताए ।
गत प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार एवं कांग्रेस महासमिति सदस्य डा.सुनिल शर्मा लगायत नेता कार्यकर्ताले सक्रियता बढाएपछि सो क्षेत्रमा अहिले कांग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको हो । यसैबीच निर्वाचित जनप्रतिनिधिहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया