संघीय संसदको अधिवेशन आजबाट शुरु, शीर्ष नेताले सम्बोधन गर्ने

लोकपथ
117
Shares

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को अधिवेशन आजबाट शुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग बस्न लागेका हुन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो र राष्ट्रियसभाको नियमित १३ औँ अधिवेशन शुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा १२ दलका नेताको सम्बोधन

प्रतिनिधिसभाको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन् । बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरुलाई स्वागत गर्नेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले) का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

प्रतिनिधिसभा बैठक प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ । बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ ।

सांसद सदस्य संख्याका आधारमा कांग्रेस र एमालेबाट दुई/दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ । बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ ।

सभामुखको निर्वाचन सम्पन्न नहुँदासम्म प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् । उनले यसअघि यही पुस ७ गते नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?