काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा बसेको राजनीतिक समितिको बैठकमा भट्टराईले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।
जारी राजनीतिक समितिको बैठकमा प्रतिवेदन पेश गर्दै विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्ने बताएका छन् । अध्यक्ष भट्टराईको प्रतिवेदनमा भनिएको छ, ‘देश अहिले पनि गम्भीर संकटबाट गुज्रिरहेको छ । इतिहासदेखि थेग्रिएर बसेका राजनीतिक, भू–राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय समस्याहरु झन् झन् गम्भीर बन्दै गइरहेका छन् ।
राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान जारी भएर दुईवटा आम निर्वाचन सम्पन्न भइसक्दा पनि स्थीर सरकार बन्न सकिरहेको छैन र समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको जनताको चाहना पूरा हुन सकेको छैन ।’ भू–राजनीतिक हिसाबले उदाउँदा विश्व शक्ति चीन र भारत तथा पुराना महाशक्तिहरूको यस हिमाली क्षेत्रमा आगामी दशकमा झन् गम्भीर ढंगले मडारिने सामरिक द्वन्द्वको सफलतापूर्वक व्यवस्थापन गर्ने हाम्रो क्षमतामाथि गम्भीर प्रश्न उठाइरहेको उल्लेख गरेका छन् ।
‘आर्थिक रूपमा देश अझै अतिकम विकसित मुलुकको स्तरबाट माथि उठ्न सकिरहेको छैन र गरीबी, बेरोजगारी, परनिर्भरता, असमानताको दुष्चक्रमा फसिरहेछ’ उनले भनेका छन् । समावेशी लोकतन्त्र अनुकूल आम मनोविज्ञानको निर्माण गर्न त्यही अनुरुपको वैचारिक पैरवी र पार्टी जीवन हुनुपर्ने उल्लेख गरेका छन् ।
‘नैतिक आचरणयुक्त सदाचारी जीवनपद्धति, सहिष्णुता र सभ्य लोकतन्त्र, पारदर्शिता र गतिशीलतालाई जोड दिनु पर्दछ । अनावश्यक तडकभडक, गुटबन्दी, सङ्कीर्णता, सत्ता र शक्तिप्रतिको अतिमोहजस्ता रोगबाट पार्टी, आन्दोलन र जनसमुदायलाई जोगाउनु पर्दछ’ उनले भनेका छन्, ‘नयाँ समुन्नत समाजवादका यी मूलभूत मान्यताहरुको वरिपरि रहेर हामीले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्दछ । त्यस निम्ति विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया