केपी ओलीले उदार मनले प्रचण्डलाई प्रधानमन्त्री बनाएकामा शंकै छ : लेखनाथ न्यौपाने

लोकपथ
112
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले एमाले अध्यक्ष केपी ओलीको चरित्र हेर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सजिलै किस्तीमा राखेर प्रधानमन्त्री पद दिएको भन्ने स्वीकार्न गाह्रो पर्ने बताएका छन् ।

लोकपथसँग कुरा गर्दै नेता न्यौपानेले जालझेल, षड्यन्त्र जस्ता खेलमा माहिर मानिएका ओलीले कांग्रेसले प्रधानमन्त्री नदिएकै कारण बोलाएर प्रचण्डलाई उक्त पदमा पुर्याएकामा विश्वास गर्न नसकिने भन्दै आशंका गरेका हुन् ।

कांग्रेससहितको पाँच दलीय गठबन्धनले नै निरन्तरता पाउँदा सम्पूर्ण सत्ताबाट बढारिएको एमालेलाई राजकीय पदहरुमा लैजाने पार्टीगत स्वार्थ त एउटा होला तर, त्यतिमा मात्र ओलीको कदम रोकिनेमा न्यौपानेको आशंका छ ।

पहिलो चरणमा प्रधानमन्त्री पनि नदिने र राष्ट्रपति पनि आफैं राख्ने नेपाली कांग्रेसको अराजनीतिक हठले अन्ततः कांग्रेस एकसाथ सडकमा पुगेको उनको टिप्पणी थियो । निर्वाचन अगावै गरिएको भद्र सहमतिबाट कांग्रेस पछाडि हट्दा सत्ताको बागडोर गुमाउँदै प्रतिपक्षमा पुग्नुपरेको उनको भनाइ थियो ।

२०४६ सालको परिवर्तन यता उस्तै व्यक्ति र अनुहार पार्टी र सत्ता राजनीतिमा निरन्तर रहँदा आमजनतामा वितृष्णा फैलिएको त्यसैको परिणाम कुनै विचार, सिद्धान्त र गन्तव्य निश्चित नभएकाहरु सत्ताको केन्द्रभागमा आउने अवस्था बनेको उनले बताए ।

रवि लामिछानेलाई उप्रधान र गृहमन्त्री बनाउनुमा पनि षड्यन्त्रको सिद्धान्तले पो काम गरेको छ कि भन्दै उनले ठूला दलहरुले नागरिकमा आएको निराशा चिर्न सकेनन् भने कस्ता व्यक्ति हाबी हुन्छन् भन्न नसकिने पनि उल्लेख गरे ।
नेतृत्व तहमा आएको बिचलनले समग्र आन्दोलनको उपलब्धि नै गुक्न सक्ने खतरा पनि उनले औंल्याए । नेताहरु नीतिमा नटिक्दा जो जससँग पनि सत्ताका लागि मात्र मरिहत्ते गर्ने चरित्र स्थापित हुन थालेको उनले बताए ।

माओवादीले दश वर्षे सशस्त्र द्वन्द्वका समयमा कमाएको उपलब्धि नेताहरुकै कारण शिथिल बन्दै गएको उनको निचोड थियो । पहिलो संविधान सभामा संविधान बनाउन चुक्दा दोस्रो संविधान सभासम्म पुग्दा माओवादी कमजोर भइसकेको तथा नेताहरुले परिस्थितिको सही आंकलन गर्न नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?