काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकास्न उल्लेखनिक काम भएको बताएका छन् । सोमवार मन्त्रालयको जिम्मेवारीबाट विदाई हुँदै मन्त्री अथकले मन्त्रालयको स्तर उठाएर बिदा हुन लागेको बताएका हुन् ।
आफ्नो १४ महिने कार्यकालमा मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरेको उल्लेख गर्दै मन्त्री अथकले दिर्घकालिन महत्व राख्ने धेरै योजनाहरु शुरु गरीएको बताए । खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी सरकारले त्यसलाई पूर्णता दिनेमा विश्वस्त रहेको बताउँदै मन्त्री अथकले खेलाडीहरुको सम्मान र पुरस्कारकालागि नितिगत रुपमै आधार तयार गरी लागू गरीएको बताए ।
लामो समयदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरी खेलकुद क्षेत्रलाई जीवन दिनसमेत सफल भएको उनको भनाइ थियो । खेलकुदका महत्वपूर्ण संरचना निर्माण गर्ने अभियानलाई समेत आफ्नो कार्यकालमा तिव्रताका साथ अगाडि बढाएको उल्लेख गर्दै मन्त्री अथकले मन्त्रालयले शुरु गरेका योजनाहरुलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्वरोजगारसँग जोडिएका सबै निकायलाई एकै ठाँउमा केद्रित गरी स्वरोजगार प्राधिकरण स्थापनाकालागि पहल गरेपनि त्यसले पूर्णता पाउन नसकेको भन्दै मन्त्री अथकले नेपालमा स्वरोजगार प्राधिकरणको अपरिहार्यता रहेको बताए । उनले आगामी दिनमा उक्त अभियानलाई अगाडि बढाउनसमेत सबै पक्षसँग आग्रह गरेका छन् ।
मन्त्रालयबाट बिदाई हुँदैगर्दा मन्त्री अथकले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलब्धीहरु समेटिएको हाते पुस्तकसमेत सार्वजनिक गरेका थिए । मन्त्री अथकको बिदाईका लागि मन्त्रालयमा सोमवार विशेष कार्यक्रम आयोजना गरीएको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल स्काउट र युवा तथा साना ब्यवसायी कोषका पदाधिकारी सहित मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको थियो । बिदाई कार्यक्रममा मन्त्रालयका सचिव गौतमले मन्त्री अथकलाई मायाको चिनो प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया