काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय स्थापना र वागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रस्ताव गरेका हुन् ।
यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो । मेयर साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय र वागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे ।
उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धि विश्वविद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राखे ।
मेयर साहले भने, ‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आफैंमा एउटा एकदमै नजिकको भित्र, छिमेकी दाजुभाई जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुराहरु छन् । देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्नो भुमिकाहरु देखाएको छ । त्यो एकदमै सराहनीय छ ।
उनले सम्पदाको क्षेत्रमा ललितपुर महानगरपालिकाले ढुंगेधारा, पुरानो हिटीहरुको संरक्षणमा अग्रसर भएको बताए । उनले भने, ‘पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रो हिटीहरुको पुनःस्थापनाको काम गर्दैछौं । ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धि युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु ।’
त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छ । त्यसका लागि स्थान काठमाडौंमा पनि सक्छ अथवा ललितपुरमा नै हुन पनि सक्छ । ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ । यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्नसक्छौं । हाम्रा कलाकौशलहरु त्यसमा अन्तर्राष्ट्रियकरण गर्नसक्छौं । हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्नसक्छौं ।
नेवाः सभ्यता भित्र धेरै पक्षहरु छन । सम्पूर्णलाई मान्छेले पढुन् । हाम्रा पुस्तान्तरण गर्न पाउ । अब आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ । अर्को कुरा, दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको वागमतीको स्थायी सरसफाई नै हो । अस्थायी सफाई अभियान त धेरै हुन्छन् । स्थायी रुपमा यसको सरसफाई गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ ।
मेयर साहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताए । उनले प्राचिन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए । उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया