कर्मचारीद्वारा डुडुवा गाउँपालिकामा तालाबन्दी, सेवा थप प्रभावित

लोकपथ
14
Shares

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभा नहँुदा आफूहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरुले चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९/८० को गाउँसभा नबस्दा बजेटसमेत पास हुन नसमेपछि सेवाग्राहीका सबै सुविधा ठप्प भएकाले सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका हुन ।

गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले जनप्रतिनिधीहरुको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि आईतवारदेखि कार्यालयमा तालाबन्दी गरि आन्दोलनमा उत्रेका हुन । कर्मचारीहरुले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन । विद्यालयहरुमा पनि शिक्षकहरुले आशिंक अध्ययापन गराएका छन ।

केहीदिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरुले एक्यबद्धता जनाएका छन । आईतवारदेखि गरिएको तालाबन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका हुन ।

चालू आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

कर्मचारीहरुले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋण बुझाउन नसक्दा ठूलो समस्या भएको कर्मचारीहरु बताउछन । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका हुन ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उनले विपक्षीहरु पटक पटक मौखिक रुपमा सहमती गरेपनि व्यहारमा कार्यन्वयन नगरेको बताए । अध्यक्ष चौधरीले अनावश्यक विभिन्न कानूनविपरितका बखेडा गरेर कार्य अवरोध गरेको र नीति तथा प्रक्रियामा जान नखोेजेको र बैठकमा समेत अनुपस्थित हुने एजेण्डमाथी छलफल नगरी बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाएको बताए ।

उनका अनुसार भोली मंगलवार दिउसो २ बजे कार्यपालिकाको बैठक बोलाइएको छ । सम्भवतः भोलीको बैठकले केही निकास दिने विश्वास लिइएको छ । यता विपक्षी दल नेकपा एमालेका वडा नम्बर ६ का वडाध्यक्ष मोहनराम मिश्रले पालिका अध्यक्षसँग मौखिक रुपमा भद्र सहमती भएको भन्दै कार्यपालिकाको बैठकले गाउसभा गर्न बाटो खुलेको प्रतिक्रिया दिए । उनले मगलवारको बैठकले निकास दिने विश्वास व्यक्त गरे ।

समयमा गाउँसभा नभएर संघिय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हुने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्णसँगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रियासमेत अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागि नभएकाले सभा अन्यौलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?