झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् उनले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका अग्नि खरेललाई पराजित गरेका हुन् ।
१४ हजार २७५ मतान्तरसहित विजयी शर्मालाई पहिलो पटक संसद प्रवेशको अवसर मिलेको छ । शर्माले ३९ हजार ६२४मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत ल्याएका हुन् ।
पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित शर्माले मन्त्री र महान्यायाधिवक्ता रहिसकेका खरेललाई पराजित गरेका हुन् । शर्मा यसअघि २०७४ को आमनिर्वाचन तथा २०७० को संविधान सभा निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।
२०२७ पुसमा झापाको शान्तिनगरमा जन्मिएका शर्मा २०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापति बन्दै राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा पहिलो पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।
२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेविसंघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ सालमा उपसभापति तथा २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बने । २०५७ सालमा काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिएका शर्मा नेविसंघको राजनीतिपछि जिल्ला पार्टी राजनीतिमा जाने प्रयास गर्दा १२ औं महाधिवेशनमा झापा जिल्ला सभापतिमा पराजित भएका थिए ।
२०७२ सालमा भएको १३ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित शर्मा २०७४ सालमा पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । २०७६ सालमा कांग्रेस प्रचार विभाग प्रमुख बन्दा उनले कांग्रेसलाई सुनिने बनाउन योगदान दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै सामाजिक विषयमा गहिरो अध्ययन राख्छन् । राजनीतिक जीवनमा जीत मात्र होइन हारको भाग पनि उत्तिकै ब्यहोरेका उनी राजनीतिमा एउटा सुसंस्कारित पद्धती बसाउन चाहने व्यक्ति हुन् । जित्दा नमात्तिने र हार्दा विजेतालाई माला पहि¥याउने संस्कार बसालेका उनी लोकतन्त्रलाई जीवन पद्धती बनाउन चाहन्छन् ।
राजनीतिमा लागेका पूर्णकालीन नेताहरु भ्रष्टाचारको दलदलमा फसेको देखेर ‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ भन्ने अवधारणा बनाएका विश्वप्रकाश अब देशका लागि धमिरा बनेको भ्रष्टाचार निवारण गर्ने मूल भूमिका निर्वाह गर्ने स्थल संसदमा पुगेका छन् । भ्रष्ट नेता, कर्मचारी, साहूमहाजन, जनप्रतिनिधिप्रति निर्मम दण्ड नचलाए हजारौंहजारको शहादतबाट स्थापित लोकतन्त्र नै धरापमा पर्ने अवस्था छ । यस्तोमा दण्डहीनता अन्त्यका लागि विश्वप्रकाशहरु जस्ताको सशक्त हस्तक्षेप अब यो राष्ट्रले चाहिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया