काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका छन् ।
मलेसियाको क्वालालामपुरमा एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संस्था (इफाप्का) को ४४ औँ सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नेपालको अबको लक्ष्य आर्थिक समृद्धि नै हो भनेका हुन् ।
नेपाल सरकार समेत समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणा सहित अघि बढिरहेको जानकारी दिँदै सिंहले समृद्ध नेपाल बनाउन निर्माण उद्योगको भूमिका महत्वपूर्ण रहने बताए । भौतिक पूर्वाधारको विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा राजनीतिक दलहरुको पनि पूर्ण साथ रहेको सिंहको भनाइ थियो ।
भौतिक पूर्वाधारको क्षेत्रमा विकास गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आय स्तर भएको मुलुक बनाउने तयारीमा सरकार लागेको उनले जानकारी दिए । आफ्नो लक्ष्यप्राप्तिका लागि सरकारले सार्वजनिक नीजि साझेदारीको अवधारणालाई प्राथमिकता दिएको अध्यक्ष सिंहले बताए ।
यसैबीच सम्मेलनबाट इफाप्काको प्रथम उपाध्यक्षमा रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन भएका छन् । महासंघका पूर्व अध्यक्ष रहिसकेका शर्मा र लामिछाने दुवै हाल महासंघका सल्लाहकार हुन् । त्यस्तै इफाप्काको बोर्ड सदस्यमा विरेन्द्रराज पाण्डे चयन भएका छन् ।
सम्मेलनमा सहभागी हुन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार मलेसिया गएको थियो ।
सम्मेलनमा सहभागी भएपछि नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ । (इफाप्का) को ४६ औँ सम्मेलन नेपालमा आयोजना हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया