काठमाडौँ– सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ ।
पोखराबाट काठमाडौँको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही रु ७०० भाडा लिएको शुभ अधिकारी ट्राभल्सले रु ५०० भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो ।
चौतीस जना यात्रुलाई ठगेकाले ती दुईवटै बसलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखेर कारवाही गरिएको महाशाखा प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए ।
गैरपर्यटक बसमा समेत टुरिष्ट लेखेर झुक्याउने गरेको गुनासो आइरहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बताए ।
बढी भाडा लिने बसलाई यातायात व्यवस्था विभागले रु तीनदेखि रु पाँच हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्तले उल्लेख गरे ।
उनले ठगी गर्ने बसका बारेमा प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गरेमा कारवाही हुने भएकाले उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।
यसअघि यही कात्तिक ७ गते पनि शुभ अधिकारी ट्राभल्सले पर्यटक बस भनी जनही रु ७०० भाडा लिएकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १५ जना यात्रुको भाडा फिर्ता गराउनुका साथै रु एक हजार ५०० जरिवाना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया