गौरीघाटमा छठको भव्य तयारी, हेर्नुहोस् २४ तस्वीर

काठमाडौं । छठ पर्वको मुख्य दिन मंगलवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिनुअघि काठमाडौंको गौरीघाटमा भब्य तयारी गरिदैँछ ।

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ आजबाट शुरु भएको छ । 

मुख्य विधि अन्तर्गत पहिलो दिन आज आइतवार (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ । यसलाई नहाय–खाय पनि भनिन्छ । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेशलगायत मुलुकभरका व्रतालुले यो पर्व शुरु गर्दैछन् । 

तिहार समापनको एक दिनपछि शुरु हुने महापर्व छठमा ठेकुवा, भुसुवा, पुरी र खाजालगायतका लोकप्रिय प्रसादहरु पूर्ण शुद्धताकासाथ चढाइने गरिन्छ ।  

दोस्रो दिन सोमवार खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ । सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि शुरु भएको छठको प्रमुख दिन मंगलवार बेलुका सूर्य अस्ताउँदादेखि भोलि बिहान सूर्य उदाउँदासम्म हो ।

 मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराई–मधेशमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व वि.सं. २०४६ पछि काठमाडौँमा मनाउन लागिएको हो । सरकारले यसै वर्षदेखि सार्वजनिक बिदा दिन थालेको हो ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ ।


 

तस्वीरः सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?