आज तिहरको चौथो दिन : गोवर्धन पूजा, म्हपूज र नेपाल सम्वत् मनाइँदै

काठमाडौं । आज तिहार अर्थात् यमपञ्चकको चौथो दिन गोवर्धन पूजा गरि मनाइँदै छ । तिहारको पहिलो दिन काग, कुकुर र लक्ष्मी पूजा हुँदै आज गोवर्धन पूजा गरि मनाइँदै छ भने नेवार समुदायले म्हपूज र नेपाल सम्वत् मनाउँदै छन् ।

नेपाललगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । 

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । 

भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ ।

आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।

गोवर्धननका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पूजा गरिन्छ ।

आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने गरिन्छ ।

म्हपूजा

यसैगरी आजै नेवारी समूदायमा म्हपूजा गर्ने चलन छ । 

नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो । 
आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । 

नेवारी भाषामा म्हं शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा व्यापक रुपमा बोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?

म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन

म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन ।

यसै चेतना अनि स्वःतत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ । 

नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ ।

शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैँलाई खुवाईन्छ ।

नेपाल सम्वत्

यसैगरी आजैको दिन नेपाल सम्वत् मनाउने गरिन्छ । 

नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेवाल सम्वत् ११३९ मनाउन लागिएको हो । 

नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना“ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आआफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । 

विशेषत नेवार समूदायले मान्ने यो सम्वत् नेपालको मौलिक सम्वत् पनि हो ।

१२ वटा औंसीको एकवर्ष मापन गरिएको यस सम्वत्मा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सम्वत्मा ३५४ दिनको एक वर्ष पर्नजान्छ ।

नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ ।

आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस सम्वत्लाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ ।

नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो ।

विक्रम सम्वत्को कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ ।

भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल सम्वत्को प्रचलन रहेको इतिहास छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?