काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । थापाले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरका हुन् ।
थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए ।
पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए ।
‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु’ थापाले भने ।
सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।
१५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
त्यसो त आजै खड्काको नेतृत्वमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकले पार्टी एकताका लागि संस्थापन पक्षले पहलकदमी लिनुपर्ने निष्कर्ष निकालेको थियो । बैठकको साँझ नै दुइ नेताबिच भेट भएको हो ।
विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र थप असन्तुष्टी बढिरहेको थियो । सर्वोच्चको आदेशसँगै दुवै पक्ष एकताका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया