काठमाडौं । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ ।
काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मृतककी श्रीमती सुशिला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको छ ।
सो क्रममा उनीहरुले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’लगायतका नारा लगाएका थिए । डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ ।
यता, अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । उनले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताए। आज पनि अस्पतालले पीडितका मागहरु सम्बोधन नगरेमा आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिँदै उनले मृत्यु भएको २१ दिनसम्म परिवारलाई क्षतिपूर्ति दिने कुरा नै नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
मृतकका परिवारले डाक्टर अमृत थापाको नेतृत्वमा रहेको काठमाडौं मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरवाही गरेर बिरामीको मृत्यु भएको बताए । संघर्ष समितिका सदस्यहरुले सरकार पीडितलाई न्याय दे, मेडिकल माफिया मुर्दावाद, हाम्रो माग पूरा गर, केएमसी प्रशासन मुर्दावाद, लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन जस्ता नारा लगाएर विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया