काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छिन् ।
बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ बजे त्यहाँ पुगी राष्ट्रपति भण्डारीले पूजा गरेकी वडाध्यक्ष जगत महर्जनले जानकारी गराए ।
परम्पराअनुसार राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति भण्डारी पूजाका लागि आएका नवदुर्गा गुठीका सदस्य प्रशान्त मालीले बताउनुभयो । आज अपरान्ह यो नृत्य मञ्चन गरिने छ ।
श्वेत भैरवको नृत्य १२ वर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ । यो नृत्य कुनै स्थानीयवासीले पुनःहेर्न गुठीसँग अनुरोध गरेमा सबै सामग्री तयार पार्न लगाएर मञ्चन गराउन पनि सकिन्छ । श्वेत भैरवको नृत्य निःसन्तान दम्पतीले हेरेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको स्थानीयवासी चक्र महर्जनले बताए ।
साउन १० गते घण्टाकर्ण चतुर्दशी (गठेमङ्गल) देखि सुरु भएको जात्रामा दसैँको फूलपातीका दिन सुनाकोठीको वालकुमारी मन्दिर परिसरमा कुल्पी यज्ञ आयोजना गरिएको थियो । उक्त यज्ञका लागि दक्षिण ललितपुरको तीनपाने भञ्ज्याङको जङ्गलबाट स्वसी आगँसी (बाँझको दाउरा) ल्याइएको थियो ।
कोजाग्रत पूर्णिमाको भोलिपल्ट ठेचोस्थित दूरीखेलमा देशभोज आयोजना गरिएकोे थियो । जात्रा आगामी फागुन–चैत्रमा साइत हेरेर सम्पन्न गरिने गुठीले जनाएको छ । जात्राका लागि गोदावरी नगरपालिकाले रु ५० लाख उपलव्ध गराएको नवदुर्गा गुठीका सदस्य मालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया