प्रधान सेनापति र संयुक्त राष्ट्रसंघका महासचिवका सैनिक सल्लाहकारबीच भेटघाट

लोकपथ
21
Shares
????????????????????????????????????

काठमाडौं । प्रधान सेनापति र संयुक्त राष्ट्रसंघका महासचिवका सैनिक सल्लाहकारबीच भेटघाट भएको छ । नेपाली सेनाका अनुसार आईतवार प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालय अफिस अफ मिलिटरी अफिर्यसका सल्लाहकार जनरल बिरामे डिओपबिच जङ्गी अड्डामा भेटघाट भएको हो ।

संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन बिरामे डिओप आईतवार नेपाल आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हेडक्वाटरका पृतनापति उपरथी योगराज शर्माले स्वागत गरेका थिए ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानका साथै भविष्यमासमेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको थियो । छलफलका क्रममा बिरामे डिओपले नेपाली शान्ति सैनिकहरुले विभिन्न शान्ति मिशनहरुमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, प्रधान सेनापति महारथी शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग तथा अवसरको लागि बिरामे डिओपलाई धन्यवाद दिनुका साथै यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै नेपाली सेना अझ पेशेवररुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनहरुमा खटिने कटिवद्धता व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्रसंघ मुख्यालयबाट भएको यस किसिमको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल तथा नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मुल्यांकन भएको विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?