कुखुरा बोक्ने खोरमा मासु ढुवानी : अनुगमन टोलीबाट विक्रीमा रोक

लोकपथ
21
Shares

काठमाडौँ । जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाईएको छ । आज काठमाडौं महानगरको अनगुमन टोलीले वडा नम्बर ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो । प्र. ३ — ०१, ०२३ च २३८७ नम्बरको दोलखाली कोल्ड स्टोरको गाडीमा २ सय वटा भुत्ला फालिएका सिङ्गै कुखुरा थिए ।

चालक भुवन गुरुङकाअनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा राखिएको थियो । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको चालक गुरुङले जानकारी दिए । चेकिङ्गका क्रममा खाद्य वस्तुका रुपमा प्रयोग हुने मासुजन्य खाद्यवस्तु खुल्ला र असुरक्षित पाइएको बताइएको छ ।

पक्राउ परेपछि गुरुङ्ले, उनका साहु कुवीर सुनारलाई बोलाको र थाहा पाएको करिव २० मिनेटपछि सुनार त्यहाँ आइपुगेको अनुगमन टोलीले बताएको छ । अनुगमन टोलीले अस्वस्थ्यकर ढुवानीका विषयमा सोधेको प्रश्नको उत्तरमा सुनारले आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको र हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको, हिजो नै गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नुपरेको बाध्यता सुनाउँदै आफ्नो बचाउ गर्न खोजेका थिए ।

सुनारकाअनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो । अनुगमन टोलीका संयोजक डाक्टर अवधेश झाकाअनुसार यसरी भेटिएको मासु बिक्रीमा रोक लगाइएको छ ।

आज नै चावहिल क्षेत्रका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाईमा ध्यान नदिने जस्ता समस्या देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?