आयोजना कार्यान्वयन निर्देशनालयबाट पुनः ठेक्का सम्झौता रद्ध

लोकपथ
77
Shares

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले भारतको हैदरावादस्थित सिआईपिईलसँग काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत खानेपानी वितरण सञ्जाल सुधार (डिएनआई) प्याकेज संचालनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति भएका सडकहरूको पुनःस्थापनाका लागि गरिएको सम्झौता रद्ध गरेको छ ।

सिआईपिईल हैदराबाद इण्डिया सम्झौता बमोजिम सडकको पुनःस्थापना गर्न असफल भएको र उक्त कम्पनीले तोकिएको अवधिमा क्षतिग्रस्त सडक पुनःस्थापना गर्न पटक पटक भएको सहमती समेत पालना नगरी काम अलपत्र छाडेकाले सम्झौता रद्ध गरिएको छ ।

खानेपानीका पाइपहरू विछ्याउने क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति भएका सडकहरू पुनःस्थापनाका लागि सिआईपिईलसँग सन् २०१६ को अक्टोबर ३ मा सम्झौता भएको र ठेक्का अवधि सन् २०१८ को डिसेम्बर ७ सम्म रहेको थियो भने सन् २०२० को डिसेम्बर २४ मा तेस्रो पटक म्याद थप समेत गरिएको थियो ।

तर सिआईपिईलले सम्झौता बमोजिम सन् २०१७ को सेप्टेम्बरसम्ममा ६० किलोमिटर सडक पुनःस्थापना गरिसक्नुपर्नेमा जम्मा १० किलोमिटर सडक मात्र पुनःस्थापना गरेको, म्याद थप गर्दा समेत काममा प्रगति नदेखिएको, कार्यक्षेत्रमा आवश्यक संख्यामा कर्मचारी र कामदारहरू नखटाएको, पटक पटक चेतावनी दिँदा पनि सम्झौता बमोजिम काम नगरेको, पिआईडीसँग भएको सहमतिप्रति समेत इमान्दार नभएको र सडक पुनःस्थापनाको काम अलपत्र छाडेकाले सम्झौता रद्ध गर्नुपरेको हो ।

सिआईपिईलको आधिकारिक प्रतिनिधि नेपालका निर्माण व्यवसायी शारदा प्रसाद अधिकारी रहेका छन् । पिआईडीले सम्झौता रद्ध गरे लगत्तै निर्माण व्यवसायीको पर्फमेन्स सेक्युरिटी ११ करोड रुपैंयाँ जफत गर्नका लागि सम्बन्धित बैंकहरूमा पत्राचार गरिसकेको छ । साथै, मोबिलाईजेसन एडभान्स पेमेन्ट १० करोड फिर्ताका लागि समेत सम्बन्धित बैंकहरूमा पत्राचार गरिसकिएको छ ।

काठमाडौं उपत्यकामा खानेपानी वितरण संजाल सुधार कार्यक्रम संचालनका क्रममा क्षति भएका सडकहरूको पुनःस्थापनाको बाँकी कामका लागि बैकल्पिक व्यवस्था गरिनेछ ।

यसअघि, गत भदौमा, चीनको साङ्घाईस्थित निर्माण कम्पनी सेफबोन वाटर सर्भिसेज (होल्डिङस)ले
सम्झौता अनुसार काम नगरेका कारण उक्त कम्पनीसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता रद्ध गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?