नवरात्रमा भक्तजनको घुइँचो लाग्ने प्रमुख शक्ति पीठहरू

लोकपथ
56
Shares

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको प्रमुख चाड दसैँमा विभिन्न शक्तिपीठहरुको धूमधामले पूजा गर्ने गरिन्छ । मनोच्छा पूरा हुने आस्थाका साथ दसैँ अवधिभरि नै विभिन्न देवी देवताको पूजा हुन्छ ।

दसैँमा यस्ता शक्ति पीठमा गई पूजा तथा आराधना गर्नाले शक्ति तथा संवृद्धि प्राप्त हुने धर्म ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठहरुमा दसैँ अवधिभर नै भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

दसैँमा सबैभन्दा चर्चित मन्दिर हो, काठमाडौँको हनुमान ढोका अवस्थित तलेजु भवानीको मन्दिर । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

यस्तै काठमाडौं उपत्यकाका प्रसिद्ध शक्ति पीठ मध्येको एक हो नक्साल भगवती । यस मन्दिरमा सोह्र भुजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठुलो आस्था रहेको पाइन्छ ।

यस्तै काठमाडौँको पश्चिममा विष्णुमती नदीको किनारमा रहेको पवित्र शक्तिपिठ हो, शोभा भगवती । प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ ।

नवदुर्गा र दश महाविद्या पीठमध्येकी एक देवी हुन्, भद्रकाली । यो मन्दिर काठमाडौँको सिंहदरबारदेखि ५ सय मिटर पश्चिममा रहेको छ । भद्रकालीको स्थापना परापूर्वकालका राजा गुणकामदेवले कलिको संवत् ३८२५ मा गराएको मानिन्छ ।

मन्दिरमा प्रत्येक मङ्गलवार र शनिवार दर्शनार्थीहरुको अरू दिनको तुलनामा बढी भीड लाग्ने गर्दछ । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । दसैँमा भक्तजनहरूको भीड लाग्ने अर्को मन्दिर हो, सङ्कटा ।

यो मन्दिर टेबहाल अर्थात् नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडिको गल्लीमा पर्दछ । सङ्कटा मन्दिरको पहिलो तल्लामा सङ्कटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणा माई अवस्थित रहेको छ । दसैँमा मात्रै नभएर यस मन्दिरमा हरेक शनिवार भक्तजनहरूको उत्तिकै भीड लाग्ने गर्छ ।

काठमाडौं उपत्यकाको अर्को मुख्य मन्दिर हो, महांकाल । करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरमा हरेक शनिवार र चाडपर्वमा उत्तिकै भीड लाग्छ । तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधिबाट पूजा गर्न थालिएको मानिन्छ ।

काठमाडौं उपत्यकाका मुख्य मन्दिरहरूमध्ये मैतीदेवी मन्दिर पनि एक हो । डिल्लीबजार र ज्ञानेश्वरका बिचमा अवस्थित यो मन्दिरको स्थापना अंशुवर्माको शासनकालमा भएको मानिन्छ । मैतीदेवी मन्दिरमा बज्राचार्य समुदायले पूजा गर्दै आएका छन् । मन्दिरमा बडा दसैँको नवरात्रिमा पशु बलि दिइँदै आएको छ ।

काठमाडौं उपत्यकाका यी शक्तिपीठहरुका साथै उपत्यकाबाहिरका शक्तिपीठहरुमा पनि भक्तजनहरूको उत्तिकै भीड लाग्ने गर्छ । काठमाडौँबाट दक्षिण भेगमा अवस्थित दक्षिणकाली मन्दिर भाकल राखेर बलि चढाउने भक्तजनहरूको सङ्ख्या उल्लेख्य छ । यो कालीदेवीको मन्दिर हो । यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो ।

यस्तै काभ्रेको पाँचखाल नगरपालिकामा अवस्थित पलान्चोक भगवतीको मन्दिर पनि हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । यो मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । यस मन्दिरमा दसैँमा विशेष मेला लाग्ने गरेको छ ।

यस्तै गोरखाको मनकामना मन्दिर पनि महत्त्वपूर्ण शक्ति पीठको रूपमा लिइन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो । यहाँ दसैँको समयमा विशेष मेला र पूजाआजा हुने गरेको छ ।

यस्तै गरी काभ्रेको बनेपामा रहेको चण्डेश्वरी मन्दिर, दोलखाको कालिन्चोक मन्दिर, डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर, सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा रहेको दन्त काली मन्दिर, पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा देवीको मन्दिरमा पनि दसैँमा भक्तजनहरूको ठुलो भीड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?