आज घटस्थापना : घरघरमा जमरा राखिदैं, घटस्थापनाबारे केहि रोचक तथ्य

दशैं आयो 
खाउँला पिउँला
कहाँ पाउँला 
चोरी ल्याउँला 
धत्त पापी म त छुट्टै बसौंला ।।

आज घटस्थापना अर्थात् नवरात्रीको पहिलो दिन । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । हिन्दु नेपालीहरुको महान् चाड दशैँ भएको कारण यो चाडको सबैले प्रतिक्षा गर्छन् । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । घरघरमा दशैँ आएको छ । यसै दिन दुई महत्वपूर्ण काम सम्पन्न गरिन्छ । 

पहिलो काम जमरा राख्ने । 

अर्को काम यस दिन घट कलशको स्थापना गरी देवी–देवताको आश्वान गर्ने ।  

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । 

जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । 

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिन्छ । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । 

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् : प्रकति–पूर्व, चण्डिका –आग्नेय, भद्रकाली–दक्षिण, सर्वमङ्गला–वायव्य, वैष्णवी–उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका–जल, थल र आकाश ।

 

यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा समेत उल्लेख छ ।

यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपयुक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजाको थालनी गरिएको हो । यसैले दशैँको अवसरमा आ–आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा–उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाई दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

दशैँलाई असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ । शक्तिस्वरूपा दुर्गा भवानीका नौ रूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्रीको पूजा गरिन्छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?