दशैँमा असन टु इन्द्रचोकः नुनदेखि सुनसम्म किन्नेको जात्रा (फोटो फिचर)

काठमाडौं । यसै पनि मान्छेको भीड हुने असन र इन्द्रचोक क्षेत्र ।

इन्द्रचोक, असन, बसन्तपुर क्षेत्रमा इन्द्रजात्राले मान्छेको बाक्लो चहलपहल बनाइदिएको थियो । सडकभरि मान्छे हिँडिरहेका हुन्थे । ठाउँठाउँमा लाखे नाच देखिन्थे । पसल सुनसान हुन्थे तर सडकमा मान्छेको बाक्लो चाप हुन्थ्यो ।

दशैँको रौनकले छोएसँगै अहिले भने यो क्षेत्रमा पसलमा पनि ठेलमठेल भीड देखिन थालेको छ । खासगरी असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड लगायतका क्षेत्रमा दशैँको अवसरमा सामान किन्ने सर्वसाधारणको भीड लागेको छ ।

हिन्दु नेपालीहरुको महान चाड विजयादशमी नजिकिँदै गर्दा सर्वसाधारणको चाप झन् बाक्लिँदै गएको छ ।

दशैँमा लगाइएका अफर र सपिङ मलहरुमा बाक्लो चाप देखिएसँगै व्यापारीहरु पनि मख्ख देखिएका छन् । इन्द्रचोकमा जुत्ता पसल राख्दै आएका सविन खनाललाई अहिले बोल्ने फुर्सद समेत छैन । बरु छेउमा आफ्नो पसलको विज्ञापन गर्न उनले नयाँ स्टाफ नै थपेका छन् । ‘यही महिना त हो, त्यसपछि त फेरि उस्तै हो, किन्नेभन्दा हेर्ने धेरै हुन्छन् तर व्यापारको चाप बढेको छ यतिबेला ।’, खनालले भने ।

खासगरी बालबच्चालाई दशैँमा नयाँ कपडा लगाइदिने प्रचलन र दशैँको उल्लासले निम्नवर्गीय परिवारलाई पनि उत्तिकै छुने भएकाले यतिबेला कपडा किन्न आउनेको सङ्ख्या धेरै भएको व्यापारीहरु बताउँछन् । भोटाहिटीबाट केही भित्र कपडा पसल राखेका नुवाकोटका प्रकाश तामाङले हाँस्दै सुनाए, ‘बल्ल त दशैँ आएजस्तो लागेको छ, फुर्सद नै छैन, अरुभन्दा पनि कपडा र जुत्ता किन्ने धेरै आउनुहुन्छ ।’

असन, इन्द्रचोक, न्यूरोड, भोटाहिटी, महाबौद्ध लगायतका क्षेत्रतिर दशैँको किनमेल गर्न आउनेमा धेरै मध्यमवर्गीय परिवार भएको व्यापारीहरु बताउँछन् । एक व्यापारी भन्दै थिए, ‘पहिले एक पिस किन्न आउने धेरै हुन्थे, दशैँको बेलामा टन्न कपडा लैजानुहुन्छ, हामीले पनि मिलाएरै दिने गरेका छौँ ।’

तस्वीरमा हेर्नुहोस् असन क्षेत्रको चहलपहलः
 

तस्वीर: सरोज घिमिरे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?