लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए ।
दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनको भनाइ छ । साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ । उनले भने, “सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइयो ।”
डेङ्गुको सङ्क्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उनको अनुमान छ । डेङ्गुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उनले बताए ।
डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएका छन् । चिकित्सकका अनुसार डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया