बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो । यसबाट प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरिब तथा अतिविपन्न परिवारलाई उपलब्ध गराउने वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।
“आवश्यक पर्नेले बैंकमा आएर आफूखुसी रोजेर लुगा लान सक्छन्”, उनले भने, “वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौँ ।” ‘कपडा बैंक’मा प्रयोगयोग्य लत्ताकपडा सङ्कलन भइरहेको जनाइएको छ ।
म्याग्दी जेसिजले आइतबार एक सय थान कपडा उपलब्ध गराएको थियो । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको टोलीले वडाध्यक्ष श्रेष्ठलाई कपडा हस्तान्तरण गरेका थिए । जेसिजका पदाधिकारी, सदस्य र बजारका व्यापारीबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा सङ्कलन गरिएको थियो ।
वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया