तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का

लोकपथ
7
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए । उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाएका छन् । उनले दसैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए ।

उनले सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमवार ४ दिने नेपाल भ्रमणमा आउँदै छन् ।

ज्ञापन पत्र बुझाएपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए । उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए । नेता बस्नेतले त्यहाँका स्थानीयहरुले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने उल्लेख गरे ।

उनले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको वयापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए । उनले व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताए ।

ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दसैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताए । उनले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले नाकामा राम्रोसँग कोभिड १९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गरे । नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरु नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताए । उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए ।

अध्यक्ष बस्नेतले व्यावसायीहरु आफ्नो लगानी डुब्ने अवस्थामा रहेको चिन्तित भएको भन्दै नाका सुसञ्चालनबारे पहल गरिदन आग्रह गरे । पहिला दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटा सम्म सवारी मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?