छोराछोरीको हत्यापछि परिवारै विस्थापित

सुनसरी-अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।

अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, शृंगारका सामान बेच्थे । परिवार रामै्रसँग धानेका थिए ३८ वर्षीय चेतनाथ फुयाँलले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छँदै थियो । तीन सन्तानको भविष्य चम्काउने ध्याउन्नमा उनीहरूले आफ्नो खुसीलाई कहिल्यै महत्त्व दिएनन् । एकाएक उनीहरूको हाँसीखुसी जीवनलाई अन्धकारले छोप्यो । असार १० गते शनिबार । बिहान सधैंजसो चेतनाथ पसल जान तयार भए । छोराछोरीलाई पढ्न र गृहकार्य गर्न अह्राउँदै उनी घरबाट निस्किए । साढे ९ बजेतिर १४ वर्षीया छोरी सुुष्मा खाना लिएर पुगिन् । खाना खाएपछि छोरीलाई सम्झाए, ‘आफू पनि नुहाउनू, भाइलाई पनि नुहाइदिनू अनि पढेर बस्नू ।’ छोरीले चटपटे खान मन लागेको बताएपछि उनले गल्लाबाट झिकेर २० रुपैयाँ दिए ।

साँझ घर फिर्ने बेला गाउँबाट ८ सय रुपैयाँमा कुखुराको भाले किने । ८ वर्षीय छोरा प्रदीपले बिहानै भाले ल्याउन भनेका थिए । उनी घर पुग्दा छोराछोरीले खसीबाख्रा खोरमा हुलिसकेका हुन्थे । आँगन बढारकुँढार गरेका हुन्थे । तर आज त्यस्तो थिएन । छोराछोरी पनि थिएनन् । उनले पत्नी निर्मलालाई सोधे । उनले ‘वल्लोपल्लो घरतिर गएका होलान्’ भनिन् । चेतनाथले भाले काट्न ठिक्क पारे । अरू बेला छोराले भालेको पछाडिको खुट्टा समात्न रहर गरेको सम्झेर काटिहालेनन् । बरु छोरालाई बोलाउन निस्किए । तल्लो घर, माथिल्लो घर सोधखोज गरे । पत्तो लागेन । साँझ ७ बजिसकेको थियो । गाउँका कसैले छोराछोरीबारे केही बताउन सकेनन् । अब उनीहरू आत्तिए । कुखुराको भाले आँगनमै डुलिरह्यो ।

झन्डै आधा रातसम्म खोज्दा पनि नभेटिएपछि चेतनाथ स्थानीय प्रहरी चौकी पुगे । इन्स्पेक्टर माधव केसीलाई सबै विवरण सुनाए । ‘गाडी छ ?’ इन्स्पेक्टरले सोधे । चेतनाथले छिमेकीको गाडी मगाए । त्यही गाडीमा आफन्त, केही गाउँले र प्रहरीसमेत बसेर छोराछोरी खोज्न निस्किए । धनकुटाको सीमामा पर्ने लेगुवासम्म पुगे । त्यसबीचका खोल्साखोल्सी, खाडल, जंगल सबैतिर खोजे तर पत्तो लागेन ।

त्यतातिर नगएको भन्ने प्रहरी टोलीको निष्कर्षपछि उनीहरू गाउँ फर्किए ।

फुयाँल परिवार र आफन्तको रात अनिदै बित्यो । भोलिपल्ट प्रहरीले अपहरणमा परेको हुन सक्ने शंका गर्‍यो । सजग पनि गरायो, फिरौती माग्दै फोन आउन सक्छ । चेतनाथ फिरौती तिरेरै भए पनि छोराछोरी फिर्ता ल्याउन तयार थिए । उनले एक जनाको २ लाखका दरले दिन्छौं भनी स्थानीय एफएम रेडियोमा सूचना प्रसारण गर्नेसम्मको सल्लाह पनि गरे । राति नै थाहा भयो, सुष्मा र प्रदीपसँगै छिमेकी रवीन्द्र सापकोटाका १५ वर्षीय छोरा रञ्जित पनि हराएका रहेछन् । उनको समेत गरी तीन जनाको ६ लाख रुपैयाँ दिने गरी चेतनाथ तयार भएर बसे । तर, घटनाले अर्कै मोड लियो ।

अभिभावकले स्थानीय पण्डितसँग पनि सल्लाह गरे । पण्डितले गाउँकै एक मन्दिरमा दूध चढाए पत्तो लाग्ने सल्लाह दिए । उनीहरू दूध चढाउन हिँडे । घरभन्दा करिब सय मिटर परको मन्दिर जाने बाटैमा एउटा पोखरी पथ्र्यो । त्यो पोखरी स्थानीय तोरणबहादुर कार्कीको घर परिसरमा थियो । बालबालिका खोज्ने क्रममा उनीहरूले पोखरीमै पसेर पनि हेरेका थिए । त्यति बेला केही नदेखिएको पोखरीमा मन्दिरबाट फर्केर आउँदा भने तीनै बालबालिकाको शव देखियो ।

स्थानीय तह निर्वाचनका बेला थियो । १३ गते मतदान हुँदै थियो । १२ गते उनीहरूले आफ्ना सन्तान पोखरी नजिक मृत अवस्थामा फेला पारे । प्रहरीले पोस्टमार्टम गर्न भनी हतारहतार गाडीमा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको चेतनाथले बताए । ‘घटनास्थल र त्यस आसपासको अवस्था अध्ययन गरिएन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्टबारे हामीलाई अहिलेसम्म केही भनिएको छैन, घटनाको राम्ररी अध्ययन नै गरिएन ।’ कान्तिपुरमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?