पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन

लोकपथ
56
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गरेका छन् ।

सोमबार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मालम्वीहरु एकपटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए । मन्त्री श्रेष्ठले पशुपति परिसर आफैँमा सभ्यताको पहिचान बोकेको स्थान रहेको पनि बताए ।

उनले पशुपति परिसरको व्यवस्थापन, सरसफाई र पूजा, आराधना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिन जरुरी रहेको बताए । मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गरे ।

संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मुर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त अमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो । पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैंक तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?