फेरि बाढीले बगाएको बैंकको भल्टबाट रकम चोरीको आशंका, बेलकोटगढी-८ कासिटारबाट ४ जना नियन्त्रणमा

लोकपथ
35
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्था पनि मारमा परेका छन् ।

धेरै वटा बैंकका शाखा नै बगाउँदा त्यहाँ भएको नगद समेत बगेका छन् ।

बैंक तथा वित्तीय संस्थामा नगद तथा अन्य बहुमूल्य वस्तु राखिएका भल्ट त्रिशूली नदीका किनारमा फेला पर्न थालेका छन् । बाढीले बगाएर ल्याएको भल्टबाट लाखौँ रुपैयाँ लुटिएपछि २९ जना पक्राउ गरिएको घटना सेलाउन नपाउँदै पुनः अर्को त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ ।

यसअघि धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोला क्षेत्रमा त्रिशूली नदीले बगाएर ल्याएको बैंकको भल्टबाट ९२ लाख भन्दा बढी चोरी भएको र चोरीको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरी रकम समेत बरामद गरेको थियो ।

बैंकको भल्ट (सेफ) बाट रकम निकालेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काँसीटारबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकवाल हवारीले लोकपथलाई दिएको जानकारी अनुसार ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।

‘हामीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ, यद्यपि हामीले बैंकको भल्ट फेला पारेका भने छैनौँ, अनुसन्धानपछि थप कुरा थाहा होला,’ उनले लोकपथसँग भने ।

नियन्त्रणमा लिइएको व्यक्तिहरु सोही स्थानका हुन् या बाहिरका भन्ने डीएसपी हवारीले खुलाउन चाहेनन् ।

‘बैंकको भल्ट बाढीले बगाएर त्यहाँ ल्याएको थियो वा अन्य स्थानको हो भन्ने यकिन छैन । हामीले थप अनुसन्धान गरिरहेका छौँ,’ उनले लोकपथसँग भने ।

त्यसो त यसअघि प्रहरीले विभिन्न स्थानबाट बाढीले बगाएर ल्याएको बैंकको भल्ट फेला पारी सुरक्षित राखेको छ ।
विपद्का बेला हुनसक्ने लुटपाटलाई मध्यनजर गरी प्रहरीले त्यस्ता बहुमूल्य सामग्री भेटेमा नजिकको प्रहरी कार्यालय वा स्थानीय तहमा पुर्‍याउन आग्रह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?