मन्त्री यादव र राईद्वारा संयुक्तरुपमा वीरगञ्जस्थित तिलावे नदी पुलको उद्घाटन

लोकपथ
175
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडक खण्डमा पर्ने वीरगञ्जस्थित तिलावे नदीमा पुलको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

पर्साको ग्रामिण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने मुख्य बाटोमा पर्ने तिलावे नदी पुलको शनिबार एक कार्यक्रमका बीच मन्त्रीद्वय यादव र राईले उद्घाटन गरेका हुन् । पुल उद्घाटन भएसँगै जिल्लाको ग्रामिण भेगका वासिन्दाले वषौँदेखि भोग्दै आएको जामको समस्या समाधान हुने भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री प्रदीप यादवले तिलावे नदीमा निर्माण भएको पुल पर्सा जिल्लाको समृद्धिको लागि कोषेढुङ्गा सावित हुने बताए । पुल निर्माणसँगै यसअघि रहेको साँघुरो र पुरानो पुलका कारण घण्टौँसम्म जाममा फस्ने समस्याबाट पनि पर्सावासीलाई छुटकारा मिल्ने उनको विश्वास रहेको छ ।

तिलावे पुल प्रयोग गरेर जिल्लाको ग्रामिण भेगका ८५ देखि ९० प्रतिशत जनता सदरमुकाम वीरगञ्ज आउजाउ गर्ने गरेका छन् । नयाँ पुल बनेसँगै ग्रामिण क्षेत्रमा उत्पादित कृषि सामग्री, खाद्यान्न लगायतका बस्तुले बजार पाउने र त्यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचार, शिक्षा, रोजगारका लागि समेत सदरमुकाम वीरगञ्ज आउन सहज हुने मन्त्री यादवले बताए ।

त्यसैगरी, मन्त्री यादवले अनुमति नपाएर रोकिएका विकास निर्माणका कामहरुको सञ्चालन गर्न वन मन्त्रालयले तत्काल अनुमति दिने आश्वासन व्यक्त गरेका छन् । नागरिकको आवश्यकतामा रहेका तर मन्त्रालयका कारण रोकिएका विकासका सबै कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै सोही अनुसार मन्त्रालयका कर्मचारी र मातहातका विभाग र निकायलाई निर्देशन दिएको जानकारीसमेत गराए ।

उनले भने, “म नागरिकको सेवाका लागि मन्त्री बनेको हुँ, वन मन्त्रालयको अनुमति नपाएर रोकीएका विकास निर्माणका कामलाई तुरन्त सुरु गर्न अनुमति दिइरहेको छु, मन्त्री बनेको एक महिना भित्रै वषौँदेखि अनुमति नपाएर रोकिएका कैयौँ विकास निर्माणका कामहरु भटाभट सुरु गराएको छु । नागरिकको खुशी नै मेरो खुशी हो, जनताको काममा एक सेकेण्ड पनि ढिलाई हुनुहुँदैन । मन्त्रालयका कर्मचारीहरुलाई पनि सोही अनुसार काम निर्दिष्ट गरेको छु । ढुक्क हुनुस मेरो कार्यकालमा धेरै कामहरु सुरु हुनेछन् ।”

यादवले वन मन्त्रालय प्राविधिक मन्त्रालय भएको कारण विकास निर्माणका काम गर्न निमिलेपनि अन्य विकासे मन्त्रालयसँग समन्वय गरेर आफूले पर्सा जिल्ला र समग्र मधेश प्रदेशको विकासका लागि नयाँनयाँ योजनाहरु ल्याउने प्रयास गरिरहेको जानकारी दिए । यादवले मञ्चबाटै पर्सा जिल्लामा अधुरा रहेका विकास निर्माणका कामलाई सम्पन्न गर्न समन्वय गरिदिन भौतिक यातायात तथा पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राईलाई आग्रह पनि गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अधुरो रहेको पर्सा–माडी–चितवन हुलाकी सडक खण्डको निर्माण छिटो सम्पन्न हुने आश्वासन दिए । मन्त्री राईले वन मन्त्रालयले उक्त सडक खण्ड निर्माणमा रहेको अड्चन हटाएसँगै हुलाकी सडकको बाँकी काम सम्पन्न गरेर पर्सालाई चितवनसम्म जोड्ने र ठोरीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए । उनले पर्सा जिल्लाको सन्दर्भमा मन्त्री यादवले दिनहुँ नयाँनयाँ विकास निर्माणका योजनाहरु आफूलाई मन्त्रलायमा सिफारिस गर्ने गरेको र आफूले पनि उक्त योजनाहरुलाई प्राथमिकतामा राखेको जिकिर गरे ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, सिंगासन् साह तेली, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

१ सय ३ मिटर लामो उक्त पुल निर्माण गर्न ७ करोड ७१ लाख रुपैयाँ लागेको सडक विभागले जनाएको छ । तीन वर्ष भित्र निर्माण सम्पन्न हुनेगरी २०७२ सालमा ठेक्का लगाईएपनि विभिन्न प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको थियो । पुल निर्माणको काम पप्पु/लुम्बिनी जेभीले गरेको हुलाकी सडक निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?