काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् ।
मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरुसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए। उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए । उनले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामथ्र्य राख्ने बताए ।
उनले भने, ‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो । त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्नेकुरा हो । गठबन्धन हाम्रो प्राथमिकतामा होइन । गठबन्धन बाहिरका दलहरुसँग छलफल हुनसक्छ । तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ । तर हिँड्दै जाँदा एजेण्डाहरु मिल्ने साथीहरु भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’
सांसद ज्ञवालीले नेपाली कांग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया