मन्त्री श्रेष्ठ र इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेट

लोकपथ
35
Shares

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको र दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताइन् ।

उनले नेपाल सरकार भूमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताइन् ।

मन्त्री श्रेष्ठले यसवर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उत्पादनलाई जोड दिएर बजेट व्यवस्था गरेको भन्दै यसमा प्रविधिलाई जोडेर आगाडि बढ्ने कुरामा सरकार लागिरहेकोसमेत बताइन् । उनले नेपालको कृषि क्षेत्रको विकासमा प्रविधिको प्रयोग र जनशक्ति विकासमा इजरायलले सहयोग गर्दै आएको र नेपालको विकासमा सहयोग गर्दै दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाइ राख्न आफूहरु लागिरहेको पनि बताइन् ।

भेटमा इजरायली राजदूत हनान गोडरले नेपालको भूमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै संभावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?