काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको आज ५० दिन पार गरेको छ । तर, सरकारले अपराधीलाई पक्राउ गर्न सकेको छैन । बरु यो घटना झनभन्दा झन रहस्यमयी बनाउँदै लगिएको छ ।
प्रहरीले बलात्कारीलाई कारवाही गर्नुपर्छ भन्ने कञ्चनपुरको आवाज नसुनेपछि अहिले यो आन्दोलन देशव्यापी बनिसकेको छ । निर्मलाको न्यायको माग गर्दै देशभर आन्दोलन भइरहेको छ ।
सरकारलाई समेत निर्मला पन्तको हत्या प्रकरण चुनौतीको विषय बनेको छ । योसँगै प्रधानमन्त्री केपी शर्मा ओली र ने क पाका अध्यक्ष प्रचण्डको पनि जथाभावी अभिव्यक्ति दिएको भन्दै विरोध भएको छ ।
गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई प्रहरीले नै लुकाउन खोजेको सर्वसाधारणले आरोप लगाउँदै आएका छन् ।
निर्मलाका हत्यारालाई जोगाउन सरकारले समेत विशेष भूमिका खेलेको भन्दै सरकारको व्पापक विरोध गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाएका छन् । उनीहरुले ट्वीटरमा जस्टिस फर निर्मलाको ह्यासट्याग चलाएर निर्मलाको न्यायको माग गरेका छन् ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै निर्मला पन्तको न्यायको माग गरेका छन् ।
‘निर्मलालाई सम्झियो कि आँखामा मेरी छोरीको अनुहार आउँछ, हरेक आमाबाबु, हरेक दाजुभाइलाई सम्भवतः यस्तै हुन्छ, निर्मलालाई जे भयो, त्यो सबैलाई हुनसक्छ’, उनले लेखेका छन्, ‘भइसकेपछि रुनुभन्दा अहिले नै उर्लनु जाति, निर्मलाका निम्ति न्याय माग्न म जान्छु तपाईं पनि आउनुस् ।’
ट्वीट लेख्दै उनले काठमाडौंको माइतीघरको मण्डलामा भोलि शनिवार हुन लागेको आन्दोलनमा सहभागी हुन समेत सबैलाई आग्रह गरेका छन् ।
यस्तै दीपेन्द्र कर्णले लेखेका छन्, ‘प्रहरीले सबुत प्रमाण मात्र नष्ट गरेको छैन, निर्दोषलाई पनि भुक्त यातना दिएका रहेछन्, अझ दिँदै पनि होलान् ।’, उनले ट्वीटरमार्फत प्रहरीमाथि नै शंका गरेका छन् ।
‘बलात्कृत र हत्या गरिएकी छोरीका बा–आमाका यी आँखामा हेर्नुस्, न्याय प्राप्तिको गहिरो याचना छ, यो पीडा बा–आमालाई भन्दा बढी कसैलाई हुँदैन ।’, पत्रकार सीपी अर्यालले निर्मलाका बा–आमाको तस्वीर शेयर गर्दै लेखेका छन् ।

यस्तै रमेश कँडेलले लेखेका छन्, ‘एसपी विष्टको डीएनए चेक गर्नुभन्दा पनि उसले त्यो गलत विधिले अनुसन्धान किन ग–यो, किन नक्कली अपराधी खडा गर्न खोज्यो, त्यो हिसाबले ऊमाथि अनुसन्धान शुरु गर्नुपर्ने होइन र?’
पोखराका सौगात पोखरेलले पनि निर्मलाले न्याय पाउनुपर्ने भन्दै ट्वीट गरेका छन् ।
‘छोरीसँगै न्याय हराएको महिनौँ भयो, सरकारलाई न्यायको पक्षमा फैसला गर, अपराधीलाई कारवाहीभन्दा आफूविरुद्धको षडयन्त्र ठान्छ’, पोखरेलले लेखेका छन्, ‘सत्यको पक्षमा लुकेर बोलौं, दलभन्दा माथि उठेर बोलौँ, कड्केर बोलौं, निर्मलाको हत्यारा खोज्ने काम कहाँ पुग्यो? हामी कारण होइन, नतिजा चाहन्छौं ।’
विनिता कार्कीले सरकारमाथि व्यङ्ग्य गर्दै ट्वीट गरेकी छिन् । ‘पहिले मान्छेले एकपटक बलात्कार गर्छ, त्यसपछि देशको शासन प्रणालीले पटक–पटक बलात्कार गर्छ, कुरी कुरी कम्युनिस्ट शासन, कुरीकुरी बहुमतको सरकार ।’
माइक्रो ब्लगिङ साइट ट्वीटरमा मात्र होइन, सामाजिक सञ्जाल फेसबूकमा पनि निर्मला पन्तलाई न्याय दिन माग उठिरहेका छन् ।
निर्मला पन्तका बाबुआमा छोरीको न्यायको याचना गर्दै काठमाडौं आइपुगेका छन् भने सरकारले पनि घटनामाथि छानबिन भइरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया